माओवादीको राष्ट्रिय सम्मेलन : उम्मेदवार बन्न पाइने, प्यानल बनाउन नपाइने
काठमाडौँ : नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनका लागि सदस्यता नवीकरणको काम भइरहेको जनाएको छ।
सदस्यता नवीकरणको काम अन्तिम चरणमा पुगेको र मङ्सिर ४ गते वडा सम्मेलन सुरु हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश शाहले जानकारी दिए।
राष्ट्रिय सम्मेलनमा प्यानलसहित उम्मेदवारी दिन नपाउने, एक्लै उम्मेदवारी बन्न रोक नलगाउने र सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने गरी विधानमा व्यवस्था गरिएको शाहले बताए।
माओवादीको वडा र पालिका तहमा ५/५ जना पदाधिकारी निर्वाचित हुनेछन् भने प्रदेशमा ७ पदाधिकारीसहित १७५ सदस्यीय प्रदेश कमिटी गठन गर्ने व्यवस्था विधानमा गरिएको उनले जानकारी दिए।
जिल्ला कमिटीलाई संयोजन कमिटीमा रूपान्तरण गर्ने व्यवस्थामा माओवादी केन्द्रले विधानमा गरेको छ। पार्टीको निर्णय गर्ने जिम्मेवारीबाट संयोजन मात्रै गर्न जिल्ला संयोजन कमिटी गठन हुने शाहले बताए।
राष्ट्रिय सम्मेलनले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम तथा अल्पसङ्ख्यकको प्रतिनिधित्व अनिवार्य गर्ने शाहले बताए।
माओवादीको राष्ट्रिय सम्मेलनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय कमिटीको एक तिहाइ सदस्यको स्थायी कमिटी र सचिवालय गठन हुने शाहले जानकारी दिए।
कात्तिक ३०, २०७८ मंगलबार २१:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।