राष्ट्रिय जनगणना : कर्मचारीको जिउज्यानमा खतरा हुने वक्तव्य नदिन तथ्याङ्क विभागले गर्यो आग्रह
काठमाडौँ : केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्यलाई प्रभाव नपार्न आग्रह गरेको छ।
विभागले मंगलबार विज्ञप्ति निकालेर कर्मचारीको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने भन्दै राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ को पूर्णपालना गर्न आग्रह गरेको हो।
कात्तिक २५ बाट सुरु भएको जनगणना मङ्सिर ९ गते चल्नेछ। जनगणनामा केही व्यक्ति तथा संस्थाबाट व्यक्त स्थलगत तथ्याङ्क सङ्कलन कार्यमा संलग्न केही गणकको कामबाट सही तथ्याङ्क प्राप्त गर्न नसकिने भन्ने खालका विचार तथा केही व्यक्ति तथा संस्थाले उत्तरदातालाई आफ्नो संस्थागत निर्णयअनुरूपको उत्तर दिन लिखित वक्तव्य प्रसारण गरिएका विषयमा विभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
जनगणना प्रश्नावलीलाई अन्तिम रूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदाय/सङ्घसंस्था र विषय विज्ञसँग पटकपटक छलफल गरिएको र प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा पनि यथेष्ट मात्रामा छलफल गरी अन्तिम रूप दिने कार्य भएको विभागले जनाएको छ।
विभागका अनुसार तथ्याङ्क सङ्कलन कार्यका लागि देशैभर करिब चालीस हजार गणक र आठ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ।
कात्तिक ३०, २०७८ मंगलबार २०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।