रामचन्द्र र चित्रबहादुरको ठट्टा : आफ्नो विवाह छोडेर अरूको जन्त कसरी जानु

रामचन्द्र र चित्रबहादुरको ठट्टा : आफ्नो विवाह छोडेर अरूको जन्त कसरी जानु

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा न्यायालयको विवाद सरकार र दलहरूले हेरेर मात्र बस्न नहुने लगायतका समसामयिक  विषयमा छलफल भएको समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संक्षिप्त प्रतिक्रिया दिए। 

समन्वय समितिको बैठकले सम्बन्धित सबैलाई छिटो निकास दिने दिशामा पहल गर्न आग्रह गरेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन्। इजलास बहिष्कार गर्दै आएका मध्ये ५ जना न्यायाधीशले मंगलबारदेखि इजलासमा बसेर पेसी तोकिएका सबै मुद्दामा सुनुवाइ गरेका छन्। 

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारले प्रधानन्यायाधीशको राजीनामा एक मात्र विकल्प भन्दै आन्दोलन गरिरहेको छ। बारले राणाले राजीनामा नदिए महाभियोग लगाउन सत्तारुढ र प्रतिपक्षी दलहरूलाई आग्रह गर्दै आएको छ। 

तर, समन्वय समितिको बैठकमा महाभियोग लगाएर हटाउने विषयमा भने छलफल नभएको एक नेताले बताए। समितिको बैठकका लागि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संयोजक पौडेलले फोन गरेका थिए।

रामचन्द्रले चित्रबहादुरलाई दाइ कतिखेर आइपुग्नु हुन्छ भनेर फोन गरेका थिए। ‘रामचन्द्रजीले फोन गरेर कतिखेर आइपुग्नुहुन्छ भन्नुभएको थियो, म पार्टीको काममा बुटवलमै छु, कहाँ आउनु नि भने,’केसीले उकेरासँग भने,‘आफ्नो विवाह छोडेर अरूको जन्त कसरी जानु भनेपछि हामी दुवै हाँस्यौ।’ 

केसीले जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल समन्वय समितिको बैठकमा सहभागी भएको बताए। 

कात्तिक ३०, २०७८ मंगलबार १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।