रङ्गशाला बनाउन सहयोग माग्दै धुर्मुसले भने : १७ करोडको ऋण बोकेर कति हिँडौँ ?

रङ्गशाला बनाउन सहयोग माग्दै धुर्मुसले भने : १७ करोडको ऋण बोकेर कति हिँडौँ ?

उनले ४ महिना यता निर्माण रोकिएको बताउँदै कोभिड र राजनीतिक उथलपुथलको सिकार आफू बनेको दाबी गरेका छन्। 'कोरोनामा समेत विचलित नभएर काम गरेका थियौ। कुनै पनि चाडपर्वमा विश्राम नलिई काम गरेका थियौँ,' उनले भनेका छन्' तर चार महिनादेखि रङ्गशाला बनाउने काम रोकिएको छ।'

उनले केन्द्रदेखि स्थानीय तहसम्म सहयोग जुटाउन हिँड्दा कतै आश्वासन र कतै धोका पाएको बताउँदै उनले एक पटक सबै जनाले यो बनाउनु पर्छ भनेर जाग्ने हो भने छ महिनामा रङ्गशालाको काम सम्पन्न हुने दाबी गरेका छन्।

उनले ४० हजार सहयोगीको भावनाको कदर नगर्ने भन्दै उल्टै सरकारलाई प्रश्न सोधेका छन्। आलोचनाको प्रतिवाद नगरी सुझावको रूपमा लिएको बताउँदै उनले सरकारले दिएको जग्गामा रङ्गशाला बनाउन संयोजन मात्र गरेको दाबी गरे

रङ्गशाला बनाउन आएको सहयोग व्यक्तिगत खर्च नगरेको दाबी गर्दै उनले असार मसान्तसम्मको लेखा परीक्षण सक्काएको र लेखा परीक्षणसहित भोगाई र पिडाहरू सार्वजनिक गर्ने बताए।

केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई यसको अभिभावकत्व ग्रहण गर्न आग्रह गर्दै भने' १७ करोड भन्दा बढी ऋणको भारी बोकेर म हिँडिराखेको छु। निर्माण सामाग्री दिने कम्पनी र व्यक्तिहरूले कुरिराखेको छ। कति कम्पनी त बन्द हुने अवस्थामा छ। फोन गरेर कहिले दिने भनेर सोध्छन् तर मैसँग जवाफ छैन। राज्यले अभिभावक भएर सहयोग गर्नुपर्ने होला।'

अति महत्त्वाकाङ्क्षाले डुबे धुर्मुस–सुन्तली

फाउन्डेसनले रङ्गशाला निर्माणमा ३ अर्ब ५५ करोड लाग्ने बताएको थियो। २०७७ सम्ममा परियोजना लागि ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा मात्र सहयोग सङ्कलन भएको र ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको दाबी गर्दै आएको छ।

उनले फाउन्डेसनको फेसबुक पेजमा राखेको भिडियोमा मिश्रित प्रतिक्रिया आएका छन्। केहीले पुन सहयोगको आव्हान हुनुपर्ने बताएका छन् भने केहीले नेपालकै नमुना कृषि क्याम्पसको जग्गा मासेको भन्दै आलोचना गरेका छन्। केहीले यसको व्यापारिक प्रयोजनमा प्रयोग हुने भएकाले सहयोग उठाएर बनाउने प्रयासै गलत भएको प्रतिक्रिया समेत दिएका छन्।

कात्तिक ३०, २०७८ मंगलबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।