न्यायाधीशहरू र बार पदाधिकारीको छलफल : प्रधानन्यायाधीशलाई दबाब पर्ने बाटो खोज्ने 

न्यायाधीशहरू र बार पदाधिकारीको छलफल : प्रधानन्यायाधीशलाई दबाब पर्ने बाटो खोज्ने 

न्यायाधीशहरुसँगको छलफलपछि बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले बारको आगामी रणनीति केन्द्रीय समितिको बैठकले तय गर्ने जानकारी दिइन। 

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै भएको आन्दोलनलाई साथ दिएका पाँच जना न्यायाधीश आजदेखि राणाले तोकेको इजलासमा बसेपछि न्यायाधीशहरू र बारका पदाधिकारीबीच छलफल भएको थियो। 

छलफलमा न्यायाधीशहरुले सबै न्यायाधीश एकै ठाउँमा रहेको बताए पनि पाँच जना न्यायाधीश इजलासमा बसेर सबै मुद्दाको सुनुवाइ गरेका छन्।

छलफलमा सेवाग्राहीलाई मर्का नपर्ने र प्रधानन्यायाधीशलाई दबाब पर्ने बाटो अवलम्बन गर्ने विषयमा छलफल बारकी उपाध्यक्ष बस्यालले बताइन। 

बार एसोसिएसनसँगको छलफल सकेर न्यायाधीशहरू छुट्टै छलफलमा बसेका छन्। प्रधानन्यायाधीश राणाको राजीनामा नै अन्तिम बटम लाइन बनाएका न्यायाधीशहरू र बार पदाधिकारी आन्दोलन जारी राख्ने या रोक्ने विषयमा निर्णयमा पुग्न सकेनन्।

प्रधानन्यायाधीश राणाले आन्दोलनका कार्यक्रम रोकेर वार्तामा आउन सोमबार आव्हान गरेका थिए। राणाको आव्हानपछि नै पाँच जना न्यायाधीश इजलासमा बसेका हुन्।

सबै न्यायाधीश तत्काल इजलासमा नबसे पनि केही न्यायाधीश काममा फर्कने राणाको सचिवालयले दाबी गरेको थियो।

राणाको सचिवालयले केही दिनमै अन्य न्यायाधीशहरू पनि काममा फर्कने र बार एसोसिएसनले पनि आन्दोलन रोक्ने दाबी गरेको छ। ‘बार एसोसिएसनले आन्दोलन चर्काइरहेकाले रोक्न बहाना चाहिएको छ,’राणा निकट स्रोतले उकेरासँग भन्यो,‘बार एसोसिएसनले सेफल्याण्डिङ खोजिरहेको छ।'

कात्तिक ३०, २०७८ मंगलबार १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।