हत्यामा संलग्न भएकाे अभियाेगमा ५ जना पक्राउ
झापाः जिल्लाकाे गौरादह नगरपालिका-५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्यामा संलग्न भएकाे अभियाेगमा प्रहरीले ५ जनालाई पक्राउ गरेकाे छ। मियाँकाे धारिलाे हतियार प्रयाेग गरी हत्या गरिएकाे थियाे।
पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र सोही ठाउँ बस्ने ३८ वर्षीया कुर्समान खातुन रहेका छन्।
मबेसिर हुसेन कात्तिक ११ गते बिहानदेखि हराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमककाे टोलीले अनुसन्धान सुरु गरेकाे थियाे। अनुसन्धानका क्रममा कात्तिक २६ गते महम्मद सद्दामको घर तलासी लिनेक्रममा उनको घर बाहिर रहेको सेफ्टी ट्याङ्कीभित्र हत्या गरी कम्बलमा पोको पारेर फालिएको अवस्थामा मबेसिरकाे शव फेला परेको थियो।
थप अनुसन्धानको क्रममा व्यक्तिगत रिसइबीको कारण मबेसिर हुसेनको हत्या गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रयोग भएको धारिलो हतियार दाउ, छुरी र घनलगायत वस्तुहरू समेत प्रहरीले बरामद गरेको छ।
उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती प्राप्त गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कात्तिक ३०, २०७८ मंगलबार ०७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।