प्रहरी अस्पतालको अनियमितता खोतल्न बनेको समितिले 'बदमासी' भेटेन

प्रहरी अस्पतालको अनियमितता खोतल्न बनेको समितिले 'बदमासी' भेटेन

एआइजी विश्वराज पोखरेल नेतृत्वको समितिले सोमबार आइजिपी शैलेश थापा क्षत्रीलाई बुझाएको प्रतिवेदनमा सामान खरिदमा अनियमितता गरेको भन्ने दाबी पुष्टि नभएको भन्दै अस्पताल प्रमुख डा आशा सिंहलाई क्लिन चिट दिए पनि सिंह र अर्का चिकित्सक मीनराज पाठकले आ–आफ्नो गुट परिचालन गर्दा अस्पतालको सेवा प्रभावित भएको निष्कर्ष निकालेको छ।

अस्पतालको खरिद प्रक्रियाबारे ​अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले सोबारे आफैँ छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको थियो।

एआइजी पोखरेलसँगै आइजिपी सचिवालयमा कार्यरत डिआइजी वसन्त लामा, एसएसपी भीम ढकाल,एसएसपी पूजा सिंह र डिएसपी ज्ञानेन्द्र बस्नेत सदस्य रहेको समितिले सामान खरिदको प्रक्रियामा कुनै कैफियत नदेखिएको छानबिनमा संलग्न एक अधिकारीले जानकारी दिए।

सामान खरिदमा अनियमितता नदेखिए पनि सिंह र पाठकबिच को सिनियर भन्ने विवाद बढेको र त्यसले अस्पताल प्रशासन समेत विभाजित देखिएको प्रतिवेदनमा उल्लेख गरिएको ती सदस्यले बताए। २०७६ पुसमा अस्पतालको प्रमुखमा डा सिंह नियुक्त भएकी थिइन्। सिंह पाठक भन्दा जुनियर भए पनि अस्पताल प्रमुखमा नियुक्त भएपछि यी दुबैबिच पहिल्यैदेखि विवाद थियो।

मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने स्वास्थ्य उपकरण हुँदाहुँदै नयाँ किनेर अनियमितता गरेकोबारे भने अर्कै समितिले छानबिन गरिरहेको छ। कोरोना सङ्क्रमण बढेको बेलामा अस्पतालको  प्रशासन भद्रगोल भएपछि प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वका विशेष टोली खटाएर दैनिक प्रशासन चलाएको थियो।

कात्तिक २९, २०७८ सोमबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।