एमसिसिलाई पठाएको चिठीबारे प्रचण्डको दाबी : पास गर्ने हैन सहमति कायम गर्न पत्र पठाएको
काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने सहमतिसहित चिठी नपठाएको दाबी गरेका छन्।
शुक्रवार खुमलटारस्थित आफ्नै निवासमा देउसी खेल्न पुगेका सञ्चारकर्मीसँगको कुराकानीमा उनले पास गर्ने नभई राष्ट्रिय सहमति जुटाउने ब्यहोराको चिठी पठाएको दाबी गरे।
'शेरबहादुरजीले हामीले सहमति जनाएर चिठी पठाइसक्यौँ भनिदिनुभएछ, त्यसले तरङ्ग पैदा भएछ', उनले भने, 'तर पछि शेरबहादुरजीले मैले त्यस्तो कहाँ भनेको छु र भन्नुभयो।'
प्रधानमन्त्री शेरबहादुर देउवा विश्व वातावरण सम्बन्धी कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएपछि सन्चारकर्मीसँग कुरा गर्दै एमसिसी पास हुने र प्रचण्ड र आफूले हस्ताक्षर गरेर पत्र पठाएको बताएका थिए।
'हामीले एमसीसी पास गर्न राष्ट्रिय रूपमा सहमति गर्छौँ भनेर चिठी पठाएका हौँ, पास गर्न तयार छौ भनेका छैनौँ', उनले दाबी गरे, 'अमेरिका र बेलायत या अन्य देशले दिने सहयोग नलिने भन्ने त हुँदैन। तर एमसीसीमा जनस्तरमै विवाद देखिएपछि यसको निरूपणपछि मात्रै पास गरौँ भन्ने हो।'
अध्यक्ष दाहालले यसअघि सन् २०१७ मा एमसीसीबारे सहमति हुँदा संसद्मा लगेर अनुमोदन गर्ने केही कुरा नभएको बताए।
'देउवाजी र हामी नै सरकारमा हुँदा तत्कालीन अर्थमन्त्रीले सहमति गर्दा सांसदबाट अनुमोदन गर्ने प्रावधान नै थिएन', उनले भने, 'त्यति बेला हामी पनि सरकारका थियौँ। त्यो सम्झौतामा कानुन सरह लैजाने भन्ने थिएन। पछि बिचमा सांसदबाट अनुमोदन गर्ने भन्ने प्रावधान घुसाएकाले विवाद भएको हो।'
दाहालले पछि घुसाइएको कुराको समाधान नगरी एमसीसी पास गर्न नसकिने बताए। उनले भने, 'हामी त्यसलाई संशोधन गराएर चाँडो भन्दा चाँडो पास गर्न चाहन्छौँ।'
कात्तिक १९, २०७८ शुक्रबार १६:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।