प्रकाशमानले भने : 'पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा मात्र दिनेबाट जोगिनुपर्छ
काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीति नजान्ने खाली नयाँ नारा मात्र दिने नेताबाट जोगिनुपर्ने बताएका छन्।
शुक्रवार बुद्ध नगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सिंहले भने' पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरूबाट जोगिनुपर्छ।'
उनले राजनीतिमा नयाँ नाराले मात्र काम नदिने काम पनि गर्न सक्नुपर्ने बताएका थिए। उनले आफ्नो क्षेत्रका मतदाता पढेलेखेका भएको र चुनावका बेला नयाँ पार्टीहरू नयाँ नारा बोकेर आएर मतदाता प्रभावित पार्ने गरेको बताए।
गत निर्वाचनमा उनको क्षेत्रमा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र उम्मेदवार बनेर कडा टक्कर दिएका थिए।
‘मेरो निर्वाचन क्षेत्रमा पढेलेखेका मतदाता छन्। चुनावका बेला नयाँ नयाँ पार्टीहरू आउँछन्। काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने।
पार्टी सानो भए पनि पटक-पटक विभाजित भएको र आफ्नै पार्टी जोगाउन नसक्ने तर ठुला कुरा गर्नेहरूको पर्दाफास भएको उनको टिप्पणी थियो।
उनले भने' गफ गरेर मात्रै हुँदैन। काम गर्नुपर्यो । काम गर्न सजिलो छ र ?’
कात्तिक १९, २०७८ शुक्रबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।