एकीकृत समाजवादी अवैध भएको पुष्टि गर्न भट्टराईलाई खतिवडाको चुनौती
काठमाडौँ : एकीकृत समाजवादीले अवैध सम्बन्धबाट जन्मिएको र पहिचान नभएको पार्टी भएको पुष्टि गर्न चुनौती दिएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका थिए।
‘उहाँले कसलाई अवैध भन्नुभएको हो ? अवैधका विरुद्ध मुद्दा हाल्न गए हुन्छ। पुष्टि गरे हुन्छ। हाम्रो पार्टीको सन्दर्भमा उहाँको भनाइ लागू हुँदैन,' एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले उकेरासँग भने ।
आफूलाई संस्थागत रूपले ठुलो दल हुँ भन्ने दलको प्रतिनिधिले यस प्रकारको कुरा गर्नु भनेको मानसिक रूपमा उ आफू तल झर्नु रहेको र म निम्तो गर्दिन भनेर धम्क्याउनुको कुनै अर्थ नभएको उनले टिप्पणी गरे।
‘औचित्यहीन निकृष्ट चिन्तन हो। कसैलाई निम्तो गर्दिन भनेर सार्वजनिक घोषणा गर्नुपर्दैन। एउटा संस्थाले अर्को संस्थालाई नबोलाउन सक्छ, उसको अधिकारको कुरा हो। निम्तो गर्यो भने पनि उ नजान सक्छ। उसको खुसीको कुरा हो,' उनले भने।
चितवनमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई बोलाउनेबारे बोल्दै भट्टराइले एकीकृत समाजवादी पार्टीलाई पहिचान र ठेगाना नभएको टिप्पणी गरेका थिए।
‘नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रण दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो, प्रमुख राजनीतिक दलहरूलाई हामीले निमन्त्रणा गर्ने हो, कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन, अवैध सम्बन्ध, अवैध गर्भधारणबाट बनेका पार्टीहरू छन्, त्यस्ता पार्टीहरूलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन, पहिचान र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरूलाई यो महाधिवेशनमा आमन्त्रण गरिनेछ,’ उनले भनेका थिए।
भट्टराई पहिला एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगै थिए। नयाँ पार्टी गठनपछि भट्टराईसहित १० जना केपी ओली तिरै फर्किएका थिए।
कात्तिक १८, २०७८ बिहीबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।