काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न अधिकृत तोक्यो

काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न अधिकृत तोक्यो

काठमाडौँ : नेपाली काँग्रेसले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ।

पार्टीले १४ औँ अधिवेशनका लागि प्रदेश दुईको आठ जिल्ला, कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन गराउन निर्वाचन समितिले अधिकृत तोकेको हो।

कैलालीमा यसअघि नै जिल्ला निर्वाचन अधिकृत पठाइसकेको छ ।समितिका अनुसार सप्तरीमा डा. रुद्र शर्मा, सिराहामा सञ्जीव लामा, धनुषामा अरुण ज्ञवाली, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, रौतहटमा दीपकराज गिरी, बारामा ज्ञानेन्द्रपसाद अधिकारी र पर्सामा नरेन्द्र केसीलाई तोकेको छ।

सुर्खेतमा मदन रेग्मी, बाँकेमा रेवतीरमण भट्टराई, डोल्पामा कुमारराज श्रेष्ठ र रसुवामा सुमन कुमार केसीलाई निर्वाचन अधिकृत तोकेको छ।

रसुवा र रौतहटमा क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी छ । सदस्यता नटुङ्गिए पनि निर्वाचन समितिले निर्वाचन अधिकृत तोकेको छ।

वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ मा अधिवेशन मिति तोकेको छ।  काँग्रेसले पाँचौँ पटक महाधिवेशन कार्यतालिका परिमार्जन गर्दै मङ्सिर २४ देखि २७ सम्म काठमाडौँमा १४ औँ महाधिवेशन गर्ने गरी मिति सार्वजनिक गरेको थियो।

कात्तिक १८, २०७८ बिहीबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।