काम नगरेका घोराही-तुलसीपुर सडकको ठेकेदारलाई पूर्व मुख्यमन्त्री पोखरेलको संरक्षणको आरोप

काम नगरेका घोराही-तुलसीपुर सडकको ठेकेदारलाई पूर्व मुख्यमन्त्री पोखरेलको संरक्षणको आरोप

दागं :  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेललाई काम नगरेका घोराही-तुलसीपुर चारलेन सडकको स्थानीय  ठेकेदारलाई संरक्षण गरेको आरोप लागेको छ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डे चारलेन सडक निर्माणका ठेकेदार हुन्। उनले सडक निर्माणमा ढिलाइ गरे पनि पोखरेलको संरक्षण भएकाले पाण्डे कारबाहीबाट जोगिँदै आएको आरोप लाग्ने गरेको छ।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मको २३ किलोमिटर र घोराहीको कटुवा खोलादेखि बबई खोलासम्मको ४ दशमलव ७ किलोमिटर गरी कुल २८ किलोमिटर सडकलाई चारलेन बनाउन ०७५ पुस १३ गतेदेखि काम सुरु भएको थियो।

चारलेन सडकको काम ३० महिनामा सक्काउन निर्माण कम्पनीसँग सम्झौता भए पनि अवधि सकिदा समेत काम सकिएको छैन।

भारतीय एक्जिम बैङ्कको सहयोगमा एक करोड २१ लख ८२ हजार अमेरिकी डलर,  करिब २ अर्ब २ करोड रुपैयाँको लागतमा चार लेन सडक निर्माण सुरु भएको थियो।

सडक विस्तारको ठेकेदार भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बई भए पनि पाण्डेले कामको जिम्मेवारी लिएका छन्। सडक खण्ड पेटी ठेक्कामा लिएका पाण्डेकै प्रभावमा मूल कम्पनिले समेत काममा लापरबाही गर्दै आएको आरोप छ। पाण्डेले मेयर बाबुको समेत आडमा जथाभाबी पहाड खोस्रेर ढुङ्गा निकाल्ने गरेको र यसमा पार्टी नेताको समेत संरक्षण रहेको आरोप लाग्दै आएको छ।

नेकपा दाङका नेता जोगबहादुर रानाका छोरा जमिन राना पाण्डेको कम्पनीका पाट्नर हुन्। उनीहरूले अष्टभैरव निर्माण सेवाको नामबाट काम गरिरहेका छन्।

तर पोखरेलले पाण्डेलाई आफूले संरक्षण नगरेको दाबी गर्छन्। प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजनामा गरेको  पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका पोखरेलले चारलेन सडकको ठेकेदारलाई संरक्षण गरेको भनेर गलत प्रचार गरिएको दाबी गरे।

चार लेनको ठेकेदारलाई काम गर्न आफू सत्तामा हुँदा पनि आवाज उठाइरहेको र गलत काम गर्ने ठेकेदारलाई कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेको दाबी गरे।

'चार लेनको ठेकेदारलाई संरक्षण गरेको भनेर मलाई जोड्ने कुरा उचित कुरा होइन, गलत र काम नगर्ने ठेकेदारलाई तत्काल कारबाही गर्न हिजो पदमा हुँदा पनि निर्देशन दिएको हुँ' उनले भने।

कात्तिक १८, २०७८ बिहीबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।