कौडा खालमा समातिएका एमाले, माओवादी र काँग्रेसका नेता छुटे
दाङ: दाङको रझेनाबाट साढे चार लाख बढी नगदसहित कौडा खालबाट पक्राउ परेका विभिन्न दलका स्थानीय नेतासहित २० जना धरौटी बुझाएर छुटेका छन्। उनीहरू बुधवार छुटेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका-१८ रझेनामा आइतबार राति एक घरमा छापा मारेर प्रहरीले २० जनालाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले उनीहरूलाई राती नै छाडिएको बताए। उनले जिल्ला सरकारी वकिल कार्यालयसंग राय लिएर प्रति व्यक्ति २५ हजारका दरले धरौटी बुझाएपछि उनीहरू छुटेको जानकारी दिए।
बुधवार बेलुका ५ बजेसम्म पनि जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन भने बुझाएको थिएन। कौडा खालमा विभिन्न दलका नेता समातिएपछि रिहा गर्न प्रहरीमा दबाब बढेको थियो।
बेलुकी ५ बजेपछि पनि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालय खुल्लै थियो। पक्राउ परेका २० जना मध्ये सबैजसो राती नै छुटे पनि धरौटी तिर्न नसकेका ४ जनालाई बिहीबार बिहान मात्रै प्रहरीले छाडेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अवैध रूपमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जनासहित चार लाख ६४ हजार ८८१ रुपैयाँ नगद बरामद गरेको थियो।
कौडा खेली रहेको अवस्थामा खालबाट पक्राउ पर्नेमा एमाले नेता घोराही १५ का ५७ वर्षीय महावीर वली, घोराही १५ कै घोराही खानेपानी उपभोक्ता सरसफाइ संस्थाका कोषाध्यक्ष धुर्बराज केसी, सोही ठाउँकै माओवादी नेता पूर्ण चन्द अधिकारी छुटेका छन्।
रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली पनि छुटेका छन् ।
त्यस्तै काँग्रेस नेताहरू घोराही ५ का ५७ वर्षीय नवीन पछाइ, घोराही १५ का ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवि गिरी, घोराही १८ का ४९ वर्षीय समीर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती छुटेको प्रहरीले जानकारी दिएको छ।
बाहिरै गाडीमा बसेको एक व्यक्तिले लाखौँ रुपैयाँ लिएर भागेका गुन्डा नाइके बाबु पुन र सुशील डाँगिको समुहको खोजी भइरहेको डिएसपी रिजालले बताए। घोराहीमा पुनको समूहले तिहारमा सेटिङमा जुवा खेलाएका थिए।
त्यस्तै तुलसीपुरमा पक्राउ परेकाहरू पनि छुटेका छन्। प्रहरीले ३ दिनमा अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय दाङले धरौटी बुझाइ जिम्मा र जमानतमा छोड्न आदेश दिएको हो। तर, मुद्राको टुङ्गो भने लागेको छैन।
५ हजारका दरले २ लाख धरौटी बुझाएर जमानतमा उनीहरू छुटेका हुन्। शुक्रवार तुलसीपुरको एक खाली घरमा कौडा खेलिरहेका एमालेका नेता मानबहादुर रावत लगायत काँग्रेस नेता सहित ८ जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
एमाले क्षेत्र नम्बर ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य रावतसंगै काँग्रेसका नेता सुरेन्द्र हमाल,दीपेन्द्र गिरी दिपु सहित रोहित न्यौपाने, चित्रबहादुर बस्नेत,मिनकेतन गिरी,विवेक मल्ल र दिगम्बर गिरीलाई प्रहरीले कौडा र एक लाख ९८ हजार २ सय रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो। उनीहरू तुलसीपुर ६ रजौरा स्थित विष्णु आचार्यको खाली घरमा कौडा खेलिरहेका थिए।
कात्तिक १८, २०७८ बिहीबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।