एमाले महाधिवेशनमा खर्चको स्रोत के हो?
विभागका प्रमुख योगेश भट्टराईले केन्द्रले चन्दा आव्हान नगरे पनि स्थानीय पार्टी कमिटीहरूले चन्दा सङ्कलन गर्न सक्ने बताए। ‘सार्वजनिक ढङ्गले चन्दा आव्हान गरेका छैनौ,’भट्टराईले भने,‘तर स्थानीय पार्टी कमिटीहरूले त्यो काम केन्द्रको अनुमतिमा गर्न सक्छन्।’
उनले चन्दा सङ्कलनका लागि पार्टीको केन्द्रीय कार्यालय र आर्थिक विभागसँग पूर्वअनुमित लिनुपर्ने बताए। आफूखुसी चन्दा सङ्कलन गर्नेलाई पार्टीले कस्तो कारबाही गर्छ भन्नेबारे उनले पत्रकार सम्मेलनमा केही खुलाएनन्।
पार्टी महाधिवेशन आयोजनाको मुख्य आर्थिक स्रोत सांगठनिक सदस्यता शुल्क र नवीकरण शुल्क रहेको उनले दाबी गरे। ‘अहिले नै म भन्न सक्दिन तर, त्यसबाट एमालेले वार्षिक करोडौँ रुपैयाँ केन्द्रीय कोषमा जम्मा गर्छ,’भट्टराईले भने,‘एमालेको मूल आर्थिक स्रोत त्यो हो।’ उनले त्यसबापत केही रकम प्रदेश कमिटीमा, केही रकम जिल्ला कमिटीमा र केही रकम तल स्थानीय कमिटीमा पनि हुने बताए।
महाधिवेशनको दोस्रो आर्थिक स्रोत प्रतिनिधि शुल्क रहने प्रचार विभाग प्रमुख भट्टराईले बताए। ‘केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वतः प्रतिनिधित्व गर्नेहरूलाई ३ हजार रुपैयाँ प्रतिनिधि शुल्क तोकिएको र तल निर्वाचित भएर आउने प्रतिनिधिका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ,’उनले भने,‘यो स्रोतबाट नै हामीले महाधिवेशनलाई सम्पन्न गर्छौ।’
उनले चितवनमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई आमन्त्रण गर्ने बताए। ‘पहिचान र ठेगाना स्पष्ट भएका दलहरूलाई आमन्त्रण गर्छौ, भट्टराईले एमालेबाट विभाजित एकीकृत समाजवादीलाई लक्षित गर्दै भने,‘कतिपय राजनीतिक दलको पहिचान र ठेगाना छैन, अवैध गर्भधारणबाट बनेका पार्टीहरू छन्। त्यस्ता पार्टीहरूलाई महाधिवेशनमा बोलाइरहनु पर्छ भन्ने छैन।’
उनले राजनीतिक पार्टीका नाममा बनेका समूहलाई नबोलाइने बताए। एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
कात्तिक १७, २०७८ बुधबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।