संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नु पर्छ/पर्दैन भन्ने मुद्दा गयो संवैधानिक इजलासमा
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा आफैँ विपक्षी भएको सो मुद्दामा न्यायाधीश हरि फुयालले अन्तरिम आदेश दिएपछि विवाद भएको थियो।
बुधवार राणाले प्रशासनिक टिप्पणी उठाउँदै रिट संवैधानिक इजलासमा पठाएका हुन्। अधिवक्ता डा गणेश रेग्मीले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने दाबी गर्दै रिट हालेका थिए।
न्यायाधीश फुयालको एकल इजलासले रिटको अन्तिम किनारा नलागेसम्म प्रधानन्यायाधीशविना संवैधानिक इजलास नबस्न अन्तरिम आदेश दिएको थियो।
अन्तरिम आदेशपछि आफू विरुद्धको मुद्दामा खेलेर प्रधानन्यायाधीशले नै अन्तरिम आदेश जारी गर्न लगाएको भन्दै राणा र न्यायाधीश फुयालको आलोचना भएको थियो। संवैधानिक परिषद्बाट भएका नियुक्ति सम्बन्धी मुद्दा संवैधानिक इजलासमै छ।
राणा आफैँ झगडियाको एक पक्ष भएकाले इजलासमा उनलाई नबस्न दबाब बढेपछि उनले बिदामा बस्ने बताएका थिए। तर पछि रिट मार्फत संवैधानिक इजलासको सुनुवाइ नै प्रभावित बनाइएको थियो।
पछि अधिवक्ता दीपकविक्रम मिश्रले अधिवक्ता रेग्मीको रिट संवैधानिक इजलासमा पठाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यही निवेदनमा टेकेर प्रधानन्यायाधीश राणाले प्रशासनिक टिप्पणीमार्फत मुद्दा संवैधानिक इजलासमा पठाए।
कात्तिक १७, २०७८ बुधबार १६:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।