जापानको आम्दानीमा कर छुटको व्यवस्था गर्न परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र  

जापानको आम्दानीमा कर छुटको व्यवस्था गर्न परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र  

एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री खड्कालाई भेटेर ९ बुँदे ज्ञापन पत्र बुझाएको एनआरएनए जापानले जनाएको छ। ज्ञापन पत्रमा रिक्त राजदूत तत्काल नियुक्ति सहित दुई देशबीचको कूटनीतिक सम्बन्ध मजबुत बनाउन आग्रह गरिएको छ।

नेपाल एयरलाइन्सको सिधा हवाई उडानमा भाडा दर महँगो रहेकाले समायोजनको पहल गर्न परराष्ट्र मन्त्री मार्फत आग्रह गरिएको अध्यक्ष पौडेलले भेटपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

श्रमिकको सिपमूलक क्षमता अभिवृद्धिमा पहल, जापानमा पाउने पेन्सन नेपालमा लिन सकिने व्यवस्थाको लागि सम्झौतामा पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ। 

जापानको आम्दानीलाई दोहोरो कर छुटको व्यवस्थाका लागि दुई देशबीच दोहोरो कर छुट सम्झौताको पहल गर्न, अल्पविकसित राष्ट्रका नागरिकहरू लाभान्वित हुनेगरि बनेका नियम, सेवा र सुविधाका लागि सरकारलाई सहजीकरण गर्न र यसमा एनआरएनए जापानले समन्वयात्मक काम गर्ने प्रतिबद्धता एनआरएनए जापानको टोलीले गरेको छ।

कुक भिसामा जापान जाने नेपालीबाट लिने गरिएको चर्को रकम, सम्झौता अनुसार जापान पुगेपछि तलब नदिने गरेका समस्या र उनीहरूमाथिको दुःख बढ्दो क्रममा रहेकाले समस्या सुल्झाउन एनआरएनए जापानले परराष्ट्रमन्त्री खड्कालाई आग्रह गरेको जनाएको छ। 

ज्ञापन पत्र बुझ्दै परराष्ट्रमन्त्री खड्काले सरकारले ज्ञापन पत्रमा उल्लेख बुँदाहरूको अध्ययन गरेर तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिएका एनआरएनए जापानका अध्यक्ष पौडेलले जानकारी दिए।

कात्तिक १६, २०७८ मंगलबार २०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।