लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने श्रीलङ्काको इच्छा 

लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने श्रीलङ्काको इच्छा 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन कोप–२६ अन्तर्गत दुई दिने विश्वका नेताहरूको शिखर सम्मेलनमा भाग लिन संयुक्त अधिराज्यको ग्लास्गो पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राजपाक्षेले अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका हुन्। 

परराष्ट्र सचिव भरतराज पौड्यालको भनाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले राजपाक्षेले अस्पताल स्थापनामा नेपालको सद्भाव होस भन्ने चाहना राखेका समाचार सम्प्रेषण गरेको छ। 

भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको छ। भेटमा शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुत बनाउनेलगायत विषयमा कुरा भएको सचिव पौड्यालले बताए। 

दुवै देशको पर्यटनको क्षेत्रमा प्रवर्द्धन गर्ने र सम्बन्ध अझ मजबुत बनाउने तथा उच्चस्तरमा संवादलाई निरन्तरता दिनेलगायतका विषयमा छलफल भएको थियो।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति संयुक्त अधिराज्य पुगेका थिए। यही कात्तिक १४ गतेदेखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ कात्तिक २६ गतेसम्म चल्नेछ। 

कात्तिक १६, २०७८ मंगलबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।