सर्वोच्चमा न्यायाधीशको छुट्टै छलफल, बसेन इजलास 

सर्वोच्चमा न्यायाधीशको छुट्टै छलफल, बसेन इजलास 

राणाले मंगलबार बन्दी प्रत्यक्षीकरण र बैङ्किङ कसुर सहित १० वटा मुद्दाको पेशी तोकेका थिए। 

अघोषित रूपमा इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्न तयार भएपछि जबराले सोमवार त्यही अनुसार पेशी तोकेका थिए। तर, मंगलवार ६ वटा इजलास तोकिएकोमा बैङ्किङ कसुरका ४ वटा मुद्दा पनि पेशीमा चढेका थिए। 

प्रधानन्यायाधीश जबरासँग इजलास शेयर गर्न नसकिने भनेर न्यायाधीशहरूले अडान कायम राखेका कारण उनले आफू बाहेकको इजलास तोके पनि आज न्यायाधीशहरू इजलासमा बसेनन्। 

सर्वोच्च अदालतमा प्राविधिक कारणले इजलास बस्न नसकेको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। उनले भोलि इजलास बस्ने र बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ हुने बताए। 

मंगलबार दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण, मीरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण र ४ वटा बैङ्किङ कसुरको मुद्दा राखिएको थियो।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार चुडाल, तेजबहादुर केसी र कुमार रेग्मी, प्रकाशकुमार ढुंगानाको एकल इजलास र सुष्मालता माथेमाको एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दा राखिएको थियो।

तर, न्यायाधीशहरू इजलासमा नबसी छुट्टै छलफलमा बसे। असन्तुष्ट न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। नेपाल बार एसोसिएसन र सर्वोच्च बारले राणा विरुद्ध आन्दोलन नै सुरु गरेको छ। 

कात्तिक १६, २०७८ मंगलबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।