घूस अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

घूस अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

काठमाडाैंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले घूस अस्वीकार गर्ने ३३ प्रहरीलाई सम्मान गरेकाे छ। ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई कारबाही गर्ने क्रममा घूस दिन खोज्ने सवारी चालकहरूलाई कानूनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरीलाई आज सम्मान गरिएकाे हाे। 

महाशाखाले तीमध्ये २० जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको छ। 

यता आर्थिक प्रलोभनमा पार्न खोज्ने ३२ जना चालकलाई कानूनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

नगद पुरस्कारसहित सम्मानित हुनेहरूमा प्रहरी निरीक्षक रामकृष्ण देवकोटा, प्रहरी नायव निरीक्षक पुरुषोत्तम ढकाल, प्रहरी सहायक निरीक्षकहरू रामेश्वर उप्रेती, अमर बहादुर लुहार र कमलदेव यादव, प्रहरी हवल्दारहरू प्रविणकान्त झा, अशोक कुमार दवल, मुकेश प्रसाद कुसवाह, एक्क बहादुर रोकाया, गोविन्द सिंह सिख, शिव नारायण चौधरी, द्रोण प्रसाद पाण्डे र शम्भु नारायण प्रसाद यादव रहेका छन्।

यस्तै प्रहरी जवानहरू रमेश गिरी, राजेन्द्र चमार हरिजन, मेखराज जोशी, गणेश भारती, बिरेन्द्र सिंह भाट, नविन भाट, कृष्ण बहादुर शाही, आकाश खनाल, नन्दराज भट्ट, सुजन श्रेष्ठ, नर बहादुर बोगटी, विनोद गिरी, गणेश ओझा, केशव बिष्ट, अभिनाश पण्डित, विष्णु अर्याल, अजेय मण्डल, विजय सिंह ऐर, युवराज कटुवाल र टेक बहादुर भण्डारीलाई पनि खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ।

गत आर्थिक वर्षमा आर्थिक प्रलोभनमा पार्न खोज्ने १६६ जना सवारी चालकहरूलाई पक्राउ गरिएकाे थियाे। चालु आर्थिक वर्षकाे ६ महिनामा भने १०९ जना चालकहरूलाई पक्राउ गरिसकिएकाे छ। यस्तै तिनलाई कारबाही गर्ने ८३ जना ट्राफिक प्रहरीलाई पुरस्कार एवं प्रशंसा पत्रद्वारा सम्मान गरिएको महाशाखाले जनाएको छ।

कात्तिक १६, २०७८ मंगलबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।