बारकाे विराेध सभामा कानून व्यवसायीकाे एक स्वर: प्रधानन्यायाधीशकाे राजीनामा

बारकाे विराेध सभामा कानून व्यवसायीकाे एक स्वर: प्रधानन्यायाधीशकाे राजीनामा

काठमाडाैंः नेपाल बार एसाेसिएसनले आयाेजना गरेकाे विराेध सभामा कानून व्यवसायीहरूले प्रधानन्यायाधीकाे राजीनामाकाे विषयलाई जाेडताेडका साथ उठाएका छन्। तीन दिनयता जारी विराेध सभा भाेलिसम्म जारी रहनेछ। 

बारकाे विराेध सभामा सम्बाेधन गर्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई एकैछिन पनि पदमा बस्ने हक नभएकाे बताएका छन्। श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए कानून व्यवसायी र जनता सडकमा आउने बताए। 'अहिले खुरुक्क राजिनामा दिनु सम्मानजनक कि महाअभियोग लगाएर हटाँउदा?' उनले भने। 

यस्तै वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले संवैधानिक नियुक्तीसम्बन्धी मुद्दामा सुनुवाइ रोकेकाे आराेप लगाएका छन्। उनले प्रधानन्यायाधीश र न्यायाधीशबीच संवाद हुन नसकेकाे पनि आराेप लगाए। उनले प्रधानन्यायाधीशले इजलासमा सेटिङ गरेकाे र संवैधानिक इजलासलाई बन्दी बनाएकाे भन्ने पनि गम्भीर आराेप लगाए। 

उनले पनि प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै भने, 'उहाँले स्वेच्छिक रूपमा छाडिदिनु भए संस्थाको मर्यादा रहन्छ।'

यस्तै विराेध सभालाई सम्बाेधन गर्दै अधिवक्ताहरू विजय मिश्र, कमला क्षेत्री उप्रेती, सविता भण्डारी, कूलबहादुर बाेगटी, ओम प्रकाश अर्याल, कपिल चन्द्र पाेखरेल, पूर्वन्यायाधीवक्ता रमण श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलगायतले पनि प्रधानन्यायाधीशकाे राजीनामा माग गरेका छन्। 

बारकाे विराेध सभासम्बन्धी यसअघिकाे समाचार

कात्तिक १६, २०७८ मंगलबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।