विभिन्न स्थानबाट तास खेलिरहेका २६ जना पक्राउ
भक्तपुरः प्रहरीले साेमबार राति भक्तपुर नगरपालिका-७ गोल्मढीबाट तास खेलिरहेका ४ जनालाई पक्राउ गरेकाे छ। ३८ वर्षीय राजेश खयामलीको किराना पसलमा तास खेलिरहेको अवस्थामा राजेशसहित ४ जना पक्राउ परेका हुन्।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यस्तै तनहुँकाे शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा भिमसेन चोकस्थित थकाली भान्सा घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ४० वर्षीय सूर्यबहादुर बिकलगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ४ सय ९५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
यता नवलपरासी(पूर्व)काे गैंडाकोट नगरपालिका-१० भैसाखोरीकाे एक रेष्टुराँबाट सञ्चालक ४७ वर्षीय डिल्लीराम सापकोटाकोसहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-५ गुलरियाका ४० वर्षीय भीमबहादुर बोहराको घरबाट पनि तास खेलिरहेको अवस्थामा बोहरासहित १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९३ हजार १ सय ८५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक १६, २०७८ मंगलबार १२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।