सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा : कार्यवाहक प्रधानमन्त्री खाँण
काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताएका छन्। सोमबार गृह मन्त्रालयमा विश्व ओमकार महासङ्घको ज्ञापन पत्र बुझ्दै उनले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताए।
‘हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ। सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ,’ खाँणले भने।
उनले सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्ने बताए। वर्गीय र जातीय रूपमा विभेद भए सामाजिक सद्भाव खलबलिने उनको तर्क थियो। धार्मिक र सामाजिक सद्भाव कायम राख्न विभेदको अन्त्य गरिनु पर्ने उनले बताए।
महासङ्घका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दिनबन्धु पोखरेलसहितले कार्यवाहक खाँणलाई ज्ञापन पत्र बुझाएका थिए।
ज्ञापन पत्रमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर चारमा ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भएको विषयमा केही अवाञ्छित व्यक्तिहरूले दुर्गा मन्दिरलाई जोडी जातीय विभेद र छुवाछुतको कारणले हत्या भएको भन्ने गलत र भ्रामक कुरा बाहिर ल्याएर जातीय द्वन्द्व मच्चाउन लागेकोमा महासङ्घको ध्यानाकर्षण भएको उल्लेख छ।
ज्ञापन पत्रमा महासङ्घको सक्रियता तथा नवदुर्गा मन्दिर व्यवस्थापन समितिको संयोजनमा कात्तिक ११ गते सर्व जातीय पूजा आयोजना गरिएको र त्यो पूजामा दलित तथा गैर दलितहरूको उल्लेख्य सहभागिता हुँदा सामाजिक सन्देश दिन सफल भएको उल्लेख छ।
कात्तिक १५, २०७८ सोमबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।