प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासकाे मत लिने

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासकाे मत लिने

इटहरीः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ अनुसार बनेको आचार्य नेतृत्त्वकाे सरकारले धारा १८८ (२) अनुसार विश्वासको मत लिन लागेको हो।

एक साताअघि नै विश्वासको मत लिने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक स्थगित गर्न माग गरेको थियो। कांग्रेसको मागपछि स्थगित प्रदेश सभा बैठक एमालेको आग्रहमा कार्तिक १५ (आज)सम्म स्थगित भएको थियो। 

भदौ १० गते मुख्यमन्त्री भएका आचार्यले असोज २५ गते नै विश्वासको मत लिनुपर्ने थियो। तर सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको बैठक कात्तिक ५ गतेसम्मलाई स्थगित गरेको कारण ढिला भएको हो।

यसबीचमा विपक्षी गठबन्धनमा रहेको कांग्रेसले आधा कार्यकाल मुख्यमन्त्री पाउनुपर्ने दावी गर्दै आएको छ। तर केन्द्रीय नेतृत्त्वको दबाब र गठबन्धनको सहमतिमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय भएकाे छ। 

यता आइतबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। 

९२ सदस्यीय प्रदेश सभामा नेकपा एमालेसँग ४१ सांसद छन्। प्रदेश सभामा बहुमतका लगि ४७ सांसदको समर्थन चाहिन्छ। विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्। एक सांसद रहेको राप्रपा तटस्थ भूमिकामा छ।

कात्तिक १५, २०७८ सोमबार ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।