सुन सफा गर्ने भन्दै ठगी, २ भारतीय नागरिक पक्राउ

सुन सफा गर्ने भन्दै ठगी, २ भारतीय नागरिक पक्राउ

उदयपुर : सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले भारत विहार सहरका ४५ वर्षीय अरुण साह र भारत विहारकै ३० वर्षीय हरिराम साहलाई पक्राउ गरेको हो।

उनीहरूले सुन सफा गर्ने भन्दै विभिन्न केमिकल प्रयोग गरेर सुन पगालेर ठगी गर्ने गरेको प्रहरीको दाबी छ।  सुन सफा गर्दा सुनको तौल आधा घटने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।  

त्रियुगा नगरपालिका–४ बगाहाका ताराबहादुर राईकी छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आधी तोला बनाएर फिर्ता गरेको प्रहरीले अनुसन्धानको क्रममा खुलेको छ। विभिन्न प्रलोभनमा पारी कमला राईले लगाइरहेको सुनको एक तोला सिक्रीलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनुपर्छ भनी झुक्क्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पीडितले जनाएको छ।

सफा गरी फिर्ता गरेको सुन पहिलाको भन्दा कम परिणामको देखिएपछि पीडितलाई शङ्का लागि तौल गर्दा आधी तोला मात्र फिर्ता भएपछि प्रहरीमा पीडितले उजुरी गरेका थिए। पीडितको उजुरीका आधारमा उनीहरूलाई खोजतलास र अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनीहरूको साथबाट पीताम्बर, सुन सफा गर्ने सामाग्रीहरू, एसिड, मट्टितेल र सुनका साना टुक्रासमेत फेला परेको डिएसपी गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए। उनीहरूले अन्य व्यक्तिहरूलाई समेत यसै गरी ठगी गरेको हुन सक्ने भन्दै अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

-न्युज कारखाना

कात्तिक १४, २०७८ आइतबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।