बहस बहिष्कारबारे बार पदाधिकारी दुई तिर : प्रधानन्यायाधीश राणाको इजलासमा बारका कोषाध्यक्षको बहस
काठमाडौँ : वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म सर्वोच्चमा बहसै नगर्ने घोषणा गरिसकेका छन्। तर बारका कोषाध्यक्ष रुद्र पोखरेलले भने राणाको इजलासमा बहस गरेका थिए।
एकातिर प्रधानन्यायाधीशको इजलास अस्वीकार गर्ने अर्कोतिर इजलासमा बारको पदाधिकारीको सहभागिताले बार राणा विरुद्धको आन्दोलनमा एक ढिक्का छैन भन्ने देखाउँछ नै।
पोखरेलले नयाँ मुद्दामा बस्ने-नबस्ने निर्णय गर्न सकिए पनि पुराना मुद्दाको किनारा लगाउन इजलासमा सहभागी भएको बताए।
‘बार, न्यायाधीश र प्रधानन्यायाधीशको टकराबमा पीडितलाई थप पीडा दिन हुँदैन। म बहसमा सामेल भइन भने त अन्यायले पनि न्यायलाई हराउन सक्छ, पुराना मुद्दा किनारा लगाऊँ। नयाँमा हो भने सामेल नहुन सकिन्छ,’ पोख्रेलले उकेरासँग भने।
नेपाल बारको केन्द्रीय सदस्य बालकृष्ण गैरेले भने बहसमा प्रवेश नै गर्न नपाइने भन्ने नभई यो स्वैच्छिक रहेको बताए।
वरिष्ठ अधिवक्ता शम्भु थापाले भने बहस बहिष्कार गर्ने बताउँदै आएका छन्। उनले आइतबार उकेरासँग बहस बहिस्कार कहिलेसम्म चल्छ भन्ने प्रश्नमा भने, ‘प्रधानन्यायाधीशले नछोडुन्जेलसम्म गइरहन्छ।’
आइतबार राणाको राजिनामा माग्दै कालोपट्टी बाँधेर भएको विरोध प्रदर्शनमा केही अधिवक्ताहरु हातमा सेतो पट्टी बाँधेर बसेका थिए।
कात्तिक १४, २०७८ आइतबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।