सिएमआर अध्यक्षमा तृष्णा आचार्य
आचार्य इटहरीस्थित जनता बहुमुखी कलेजमा पत्रकारिता तथा आमसञ्चार अध्यापनमा संलग्न छिन्। उनी यसअघि दिव्यभूमि बहुमुखी कलेजमा पत्रकारिता तथा आमसञ्चार विभागकी प्रमुख थिइन। आचार्यले २०७६–२०७८ सम्म अध्यक्षको कार्यकाल पूरा गरेका ऋषिकेश दाहालबाट पदभार ग्रहण गरेकी थिइन।
त्यस्तै उपाध्यक्षमा दीपक अर्याल, सचिवमा नवीन खतिवडा, कोषाध्यक्षमा श्रुति श्रेष्ठ तथा कञ्चन अधिकारी, हिमेशरत्न बज्राचार्य र सुनिता कार्कीलाई कार्यसमिति सदस्यमा चयन गरेको छ।
साधारण सभामा सिएमआर नेपालका सचिव दीपक अर्यालले आर्थिक वर्ष २०७७–२०७८ मा संस्थाले सञ्चालन गरेका परियोजना गतिविधिबारे प्रतिवेदन पेस गरेका थिए। उनले संस्थाले विगत वर्षदेखि नीतिगत क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पत्रकारको क्षमता अभिवृद्धिका लागि सिएमआर थप कटिबद्ध भएर लागिपर्ने बताए।
सिएमआर नेपालले ४ वर्षदेखि ३ वटा आयोजनासहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसले मिडिया नीति समीक्षा र वकालत गतिविधि, पत्रकारको क्षमता अभिवृद्धि र डिजिटल मिडिया सम्बन्धित मामिला आदिमा काम गर्दै आएको छ।
कार्यक्रममा कार्यवाहक कोषाध्यक्ष श्रुति श्रेष्ठले संस्थाको आर्थिक वर्ष २०७७–२०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्। सचिव र कोषाध्यक्षको प्रतिवेदन साधारण सभाले पारित गरेको छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक कुन्दन अर्यालले नेपाली मिडियामा अनुसन्धानको परम्परा विकासमा सिएमआर नेपालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए।
यसै गरी नेपाल पत्रकार महासङ्घका सचिव पवन आचार्यले नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै नेपाली पत्रकारिताको उत्थानका लागि अनुसन्धान गर्ने र अन्य पत्रकारिता र मिडियासँग सम्बन्धित संस्थाबिच सहकार्यको आवश्यकता औँल्याए।
सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले आगामी योजना र गतिविधिबारे जानकारी गराएका थिए। उनले कोभिड–१९ को सङ्कट र पत्रकारितामा परेको असरबिच पनि संस्थाले आवश्यकताका आधारमा कार्यक्रम तथा गतिविधिमा केन्द्रित हुने जानकारी दिए।
साधारण सभामा संस्थापक अध्यक्ष तथा पूर्वकार्यकारी निर्देशक उज्ज्वल आचार्य, निवर्तमान अध्यक्ष ऋषिकेश दाहाल, पूर्व अध्यक्ष भुवन केसीलगायतले निर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए ।
कात्तिक १४, २०७८ आइतबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।