प्रधानमन्त्री देउवाले भने, एनआरएनएले मागे जस्तो नागरिकता तत्काल सम्भव हुँदैन
लन्डन : प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन्।
नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको बताए।
‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु। एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ,’प्रधानमन्त्री देउवाले भने,‘भिसाका लागि झन्झट गर्नु पर्दैन।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए। उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए।
एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ। त्यो तत्काल सम्भव नहुने देउवाले बताए।
एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापन पत्र बुझाएको थियो।
कात्तिक १३, २०७८ शनिबार १९:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।