जसपालाई प्रचण्डको प्रस्ताव : पार्टी एकताका लागि जनकपुर आउन तयार छु
सर्लाही : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टीका नेतालाई पार्टी एकताका लागि आग्रह गरेका छन्।
सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन नेपालको कार्यक्रममा प्रचण्डले अहिले भएको सत्ता गठबन्धनलाई पार्टी एकतामा रूपान्तरण गर्न आग्रह गरेका हुन्।
‘सर्लाहीका जनप्रतिनिधि महेन्द्र राय यादव मेरो एकदमै नजिकको मित्र हुनुहुन्छ। उहाँलाई म आग्रह गर्न चाहन्छु, क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुँदैन। एकीकृत हौ। महासागर बनौँ। किन अलग अलग जाने?’ प्रचण्डले भने।
अध्यक्ष प्रचण्डले महेन्द्रसँगै अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टी एकता गर्न आग्रह गरे। त्यसका लागि आफू जनकपुर आउन तयार रहेको उल्लेख गर्दै जनकपुरबाटै घोषणा गर्न प्रचण्डले प्रस्ताव गरे। ‘तपाईँहरू ढिलो नगर्नुस्। हाम्रो पार्टीमा अधिकार र सम्मानमा कुनै कन्जुस्याइँ गर्नेछैन,’प्रचण्डले भने,‘ढिलो नगरी पार्टी एकता गरौँ। म जनकपुर आउँछु। त्यहीँबाट घोषणा गरौँ।’
उनले पार्टी एकता भए कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्न नसक्ने बताए।
कात्तिक १३, २०७८ शनिबार १९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।