जनगणनामा घरमुलीलाई ५५ प्रश्न :  ३९ हजार गणक घरपरिवारमा पुग्ने

जनगणनामा घरमुलीलाई ५५ प्रश्न :  ३९ हजार गणक घरपरिवारमा पुग्ने
तस्बिर : केन्द्रीय तथ्याङ्क विभाग

काठमाडौँ : कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने जनगणनाका लागि खटिने गणकहरूको तालिम आजदेखि सुरु भएको छ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार जनगणनाका लागि हरेक घरपरिवारमा पुग्ने ३९ हजार गणकहरूको तालिम सुरु भएको हो। 

७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले आजदेखि सुरु गरेको तालिम १६ गतेसम्म चल्ने विभागले जनाएको छ। 

ट्याब्लेट प्रयोग हुने काठमाडौँ जिल्लामा भने गणक तालिम १७ गतेसम्म हुनेछ। विभागले विज्ञप्ति निकालेर तालिममा जनगणना क्षेत्र पहिचान गर्ने, सही तथ्याङ्क ल्याउनका लागि गणकले अपनाउनु पर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्याङ्कको गोपनीयता जस्ता विषयमा जानकारी गराउने उल्लेख गरेको छ। 

गणकलाई तालिम दिन १५ सय जना प्रशिक्षक खटिएका छन् भने सय जना तालिमको अनुगमन तथा अवलोकनको लागि खटिएका छन्। 

तालिम लिएका गणकले घरमुलीसँग व्यक्तिको नाम, उमेर, घरमुलीसँगको नाता, शिक्षा, पेसा, रोजगारीका क्षेत्र, जाति, धर्म, भाषा, बसाइसराइ, अपाङ्गता आदिजस्ता प्रश्नहरू सोध्ने विभागले जनाएको छ। 

यो जनगणनामा ५५ वटा प्रश्न सोधिनेछन्। एउटा घरका लागि एक जना गणकले सबै प्रश्न सोध्न परिवारको आकार हेरी २० देखि ३० मिनेटको समय लगाउने अनुमान विभागले गरेको छ।

कात्तिक १३, २०७८ शनिबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।