नेपालको नयाँ नक्सा जारी गरेका कारण सरकार ढल्यो : केपी ओली
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेको नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गरेका कारण आफू नेतृत्वको सरकार ढलेको बताएका छन्।
एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकै कारण आफू नेतृत्वको सरकार ढलेको बताए।
उनले अहिलेको सत्ता गठबन्धनका नेतालाई लेण्डुप दोर्जेको संज्ञा दिए।
तुइन काटेर जयसिंह धामीलाई महाकालीमा बगाउँदा सरकार चुप बसेको ओलीले आरोप लगाए। उनले सरकारले दोषीमाथि कारबाही हुने समेत भन्न नसकेको बताए। उनले सरकारको नेतृत्व गर्नेलाई हुतीहारा भएको समेत आरोप लगाए।
एमाले विरोधीहरू देश र राष्ट्रियता विरोधी भएको ओलीको आरोप छ। ‘राष्ट्रियता विरोधी नभएको भए एमाले नेतृत्वको सरकार ढल्दैनथ्यो,’ओलीले भने,‘एमालेको विरोध गर्नेहरू देश र राष्ट्रियता विरोधी हुन्।'
उनले देशको हितमा काम गर्छौ भन्ने कर्मचारीलाई ‘हामी चाहिँ जोगी हुन आएको’ भनेर एक मन्त्रीको कुरा आफूले सुनेको बताए। ती मन्त्रीलाई एक उच्चपदस्थ कर्मचारीले कानुन बमोजिमको काम हुने जवाफ दिएको ओलीले सुनाए।
देश बिगार्ने र आफू बन्नेहरुबीच लडाई रहेको ओलीले बताए। उनले एमाले देश बनाउने अभियानमा लागेको जिकिर गरे। उनले सत्ता गठबन्धनको कामै खाने भएको बताए।
कात्तिक १३, २०७८ शनिबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।