ओली सरकारको भ्रष्टाचार छानबिन गर्न माधव नेपालको आग्रह 

ओली सरकारको भ्रष्टाचार छानबिन गर्न माधव नेपालको आग्रह 

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन्।

एकीकृत समाजवादी काभ्रे जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्दै नेपालले सरकारमा बस्नेलाई गलत बाटोमा जान छुट नभएको बताए। 

केपी शर्मा ओली सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिदलगायत धेरै मुद्दाको ढाकछोप गर्ने कोसिस भएको नेपालले बताए। उनले भनेजस्तो काम नगरे पार्टीबाट मन्त्री बनेकालाई कारबाही गर्ने चेतावनी दिए। ‘भ्रष्टाचार, अनुचित काम गर्ने र देशलाई आँच पुर्याउने खालका काम गर्नेलाई छुट दिन सकिँदैन’नेपालले भने। 

उनले आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार थप निर्देशन दिने बताए। गणतन्त्रको खिसीटिउरी गरेकाले सरकार ढालेको र अझै पनि त्यस्तै व्यवहार देखाए पार्टीमा पनि समस्या उत्पन्न हुने नेपालले बताए। अध्यक्ष नेपालले बागमती प्रदेश र प्रदेश नं १ मा छिट्टै नै एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको बताए। 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले अघिल्लो सरकारले गरेको गलत कामका विरुद्धमा सङ्घर्ष गरेर गुम्न लागेको उपलब्धिलाई रक्षा गरेकोमा नेपाललाई धन्यवाद दिएका थिए।

असोज २३, २०७८ शनिबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।