कोभिशिल्ड खोपको १० लाख डोज काठमाडौँ आइपुग्यो
काठमाडौँ : भारतसँग खरिद गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ। सरकारले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग गरेको कोभिशिल्ड खोप शनिबार दिउँसो साढे २ बजे काठमाडौँ आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
प्रतिडोज ४ डलरका दरले सात महिनाअघि २० लाख डोज कोभिशिल्ड खोप खरिद गर्ने सम्झौता गरेको थियो। सेरमले त्यसबेला १० लाख डोज पठाए पनि १० लाख पठाएको थिएन।
नेपालले सेरमसँग सम्झौता गरेको मध्ये बाँकी १० लाख कोभिशिल्ड खोप काठमाडौँ आइपुगेको खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए।
काठमाडौँ आइपुगेको खोप दसैँ अगाडि नै लगाउन सुरु गर्ने तयारी गरिएको दाहालले बताए। उनका अनुसार कोभिशिल्डको पहिलो मात्रा लगाएका करिब ९ लाख जनालाई दोस्रो डोज दिइनेछ।
असोज २३, २०७८ शनिबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।