काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने बिचौलिया पक्राउ 

काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने बिचौलिया पक्राउ 

काठमाडौँ : तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्रेको छ। यात्रुलाई टिकटमा मोलमोलाइ गर्ने चितवनका समीर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसरीका सवन राईलाई पक्रेको महानगरीय  ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

त्यस्तै टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौँका  राज ठकुरी, दाङ घोराहीका विशाल गुरुङ र कैलालीका रमेश कठायतलाइ गंगबुबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ। 

यस्तै यात्रुसँग बढी भाडा लिने नवीन केसी, शुभयात्री काउन्टरमा काम गर्ने अरुण मगर र नारायणी काउन्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागी प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरीको सादा पोसाकमा खटिएको टोलीले उपत्यका बाहिरिने यात्रुहरूसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तिहरूलाई निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाइ गर्ने, यात्रुहरूसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

असोज २१, २०७८ बिहीबार १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।