६६ औँ प्रहरी दिवस : प्रथम महिला प्रहरी चैतमायालाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’

६६ औँ प्रहरी दिवस : प्रथम महिला प्रहरी चैतमायालाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’
तस्बिर : प्रहरी प्रधान कार्यालय

नुवाकोट विदुर नगरपालिकाका प्रहरी जवान मनोज कुमार हमालका छोरा हार्दिक हमाल र दोलखा लामिडाँडाका प्रहरी सहायक निरीक्षक राम बहादुर खड्काकी छोरी सञ्जीवनी खड्कालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यस्तै बैतडी शिवनाथका शेर सिंह साउदका छोरा अनिल साउद र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रहरी जवान राम बहादुर चौधरीकी छोरी नीमृत चौधरीलाई अच्युत-मिना अमर प्रहरी परिवार छात्रवृत्ति प्रदान गरिएको कार्यालयले जनाएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार यस वर्ष घोषित ३३ जनामध्ये २६ जना प्रहरीका परिवारहरूलाई पायक पर्ने प्रदेश प्रहरी कार्यालयहरूमा कदर पत्र प्रदान गरिएको छ। 

प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डङ्गोललाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे। 

देउवाले कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्नेमा विश्वास लिएको बताए। उनले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा सङ्गठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभर फैलिरहेको अपराधका नयाँ प्रवृत्ति र शैलीहरूप्रति नेपाल प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुनु जरुरी रहेको बताए। 

दिवसका अवसरमा भएको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले अपराध नियन्त्रण र अनुसन्धान एवम्  शान्ति सुव्यवस्था कायम गर्न सबै सुरक्षा निकायहरूलाई आधुनिकीकरण गर्न, साधन स्रोत सम्पन्न बनाई नयाँ चुनौतीको सामान गर्न सक्षम बनाउन वर्तमान सरकार संवेदनशील रहेको उल्लेख गरे। 

सबै प्रहरी कर्मचारीहरू उत्कृष्ट रूपमा प्रस्तुत हुन र राष्ट्र एवम् जनताको हक हित रक्षाको लागि अझै  संवेदनशील र गम्भीर हुन उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए। 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी हवलदार तथा प्रहरी जवानको मनोबल र उत्प्रेरणा अभिवृद्धिका क्षेत्र पहिचान गरी सोही बमोजिम क्षेत्रगत रूपमा तत्कालीन र दीर्घकालीन योजना बनाइएको बताए। 

नेपाल प्रहरीलाई प्रणालीगत रूपमा सञ्चालन गर्न १३ वटा नयाँ कार्यादेश कार्यान्वयनमा ल्याइएको, प्रचलनमा रहेका प्रशिक्षणलाई नागरिक मैत्री बनाउन ७ वटा पाठ्यक्रमहरू परिमार्जन गरिएको, १० वटा नयाँ पाठ्यक्रमहरू स्वीकृत गरिएको तथा १ सय ३३ वटा कार्यादेश, निर्देशिका र मापदण्ड तर्जुमा गरिएको उनले जानकारी दिए।

असोज २०, २०७८ बुधबार १४:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।