शनिबारदेखि बेपत्ता युवती जङ्गलमा मृत फेला
सप्तरीः जिल्लाकाे रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छिन्। रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीकी २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
घाँस काट्न गएका स्थानीयले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयले बताएका छन्।
मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैँ रूखमा झुन्डिएको हुन सक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता थिइन्।
असोज २०, २०७८ बुधबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।