नेपालगञ्ज ‘डाईभर्ट’ भएको बुद्ध एअरको जहाज काठमाडाैंका लागि उड्यो
सुर्खेतः मौसम खराबीका कारण सुर्खेत 'ल्याण्ड' हुन नसकेपछि नेपालगञ्ज 'डाइभर्ट' गरिएको बुद्ध एअरको यू ४–१३३ नम्बरको जहाजले सुर्खेतमा अवतरण गरेकाे छ। बिहान १०ः२५ मा नेपालगञ्जबाट आएकाे जहाज सुर्खेत अवतरण गरेको बुद्धएअर सुर्खेतका निमित्त प्रमुख अनिल पन्तले जानकारी दिए।
उनका अनुसार १०ः५० मा साे जहाज सुर्खेतबाट ३९ जना यात्रु लिएर काठमाडाैं उडिसकेकाे छ। ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न नसक्दा जहाजलाई नेपालगञ्ज डाइभर्ट गरिएकाे थियाे। पुनः सुर्खेत अवतरण गरी, दुई महिने शिशु र ३९ जना यात्रु लिएर जहाज काठमाडाैं गइसक्यो,’उनले भने, ‘जहाजमा अन्य समस्या केही पनि होइन, हामी नेपालगञ्ज र काठमाडाैं एअरपोर्टसँग सम्पर्कमा रहेका थियौं।’
त्रिभुवन विमानस्थबाट बिहान ८ बजेर १ मिनेटमा सुर्खेतका लागि हिँडेको उक्त जहाजमा ४६ जना यात्रु थिए। सुर्खेतको आकासमा तीन फन्का लगाएर पनि अवतरण गर्न नसकेपछि जहाज नेपालगञ्जमा अवतरण गरेकाे थियाे।
असोज २०, २०७८ बुधबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।