११ लाख भारतीय नोटसहित एक जना नियन्त्रणमा
इलामः ११ लाख भारतीय नोटसहित प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। सूर्योदय नगरपालिका फिक्कलका ३५ वर्षीय अनुप अग्रवाललाई ११ लाख भारुसहित नियन्त्रणमा लिइएको हो।
उनलाई थप अनुसन्धानका लागि प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरी लगेको छ। विशेष सूचनाका आधारमा उनलाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी ११ लाखसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
मे१च ६४२४ नंको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको हो। अग्रवालले विगतदेखि नै फिक्कलमा भारतीय नोटको कारोबार गर्दै आएको प्रहरीले अनुमान गरेकाे छ। उनले सटही काउन्टरसमेत सञ्चालन नगरी भारतीय नोट सटहीको काम गर्दै आएको बताइएकाे छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङका अनुसार स्रोत नखुलेले १० लाखभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिएको हाे।
असोज २०, २०७८ बुधबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।