कांग्रेस बाजुराको अधिवेशनमा झडप, दुई जना प्रहरी नियन्त्रणमा  

कांग्रेस बाजुराको अधिवेशनमा झडप, दुई जना प्रहरी नियन्त्रणमा  

बाजुरा : नेपाली कांग्रेसको बाजुरा जिल्ला अधिवेशनमा झडप भएको छ। मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा एक जना प्रहरी जवान घाइते भएका छन्।  

नेपाली कांग्रेसको १४ औँ महाअधिवेशनअन्तर्गत आज भएको जिल्ला अधिवेशनका क्रममा झडप हुँदा घाइते भएका प्रहरी जवानको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मतपेटिका व्यवस्थापन गर्ने क्रममा मादक पदार्थ सेवन गरेर हल भित्र पस्न खोज्ने दुई जना कांग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा हात हालाहाल भएको बाजुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

होहल्ला गर्नेलाई नियन्त्रणमा लिने क्रममा कांग्रेस कार्यकर्ताको ढुङ्गा लागेर एक जना प्रहरी जवान घाइते भएका साउदले बताए। घटना अहिले सामान्य भइसकेको साउदले उकेरालाई जानकारी दिए।

जिल्ला समन्वय समितिको कार्यालय मार्तडीमा कांग्रेसको जिल्ला अधिवेशन भएको थियो। झडपपछि आजै राति ११ बजेबाट गर्ने भनिएको मतगणना अनिश्चित बनेको छ। कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ।

असोज १९, २०७८ मंगलबार २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।