सुन तस्करीमा गोरेलाई सफाई, हत्या र अपहरणमा जन्म कैद
कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक दुबै मुद्दामा मुख्य नाइके मानिएका चूडामणि उप्रेती 'गोरे' दोषी ठहर भएको जिल्ला अदालत मोरङका श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए। उप्रेतीसहित टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, राजन कुमार र मदनप्रसाद घिमिरे कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका छन्।
राजनलाई ३ वर्ष र मदनप्रसादलाई ६ महिना कैदको फैसला भएको श्रेष्तेदार राणाले जानकारी दिए। ‘गोरेसहितका ६ जनालाई जन्मकैदको फैसला भएको छ,’राणाले उकेरासँग भने, गोरे कर्तव्य ज्यानसहित अपहरण तथा शरीर बन्धक मुद्दा दुबैमा दोषी ठहर भएका छन्।’
सुन तस्करी मुद्दाका ७७ जना प्रतिवादी मध्ये २१ जना फरार रहेकाले उनीहरुको मुद्धा मुल्तबीमा रहेको उनले जानकारी दिए। ‘
सुन तस्करी, कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक मुद्दाका ७७ मध्ये २१ प्रतिवादी फरार मुल्तबीमा छन्,’उनले भने,‘सुन तस्करी मुद्दामा भने सबै प्रतिवादीले सफाइ पाएका छन्।’
सुन तस्करीको प्रमाण पुगेन
सुन तस्करीका आरोप लागेकाहरुविरुद्ध प्रमाण नपुग्ने फैसला न्यायाधीश भरत लम्सालको इजलासले गरेको राणाले बताए। गोरे सहित ८ जना बाहेकका अरू प्रतिवादीमा अभियोग दाबी नपुग्ने फैसला आएको उनले बताए। अभियोग दाबी र प्रमाण नपुग्नेहरूले सफाइ पाएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले २०७७ वैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार बिगो माग दाबी गरेर जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो।
सुन तस्करी मुद्दामा पूर्वएआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सन्जेल, प्रहरी हवलदार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले सफाइ पाएका छन्।
असोज १९, २०७८ मंगलबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।