भेटिए उपत्यकाबाट हराएका माेटरसाइकल, महाशाखा भन्छ- 'डियाे र पल्सर धेरै चाेरी हुने'
काठमाडाैंः ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १० मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल हराउन नदिन सवारी धनी आफैँ विशेष चनाखो हुनुपर्ने बताएका छन्। “उपत्यकाबाट हराएका अधिकांश सवारीसाधन उपत्यकाका आसपासका इलाकामा फेला पर्ने गरेका छन्,” उनले भने।
स्कुटरको सवारी दर्ता किताब (ब्लूबुक) डिकिमै राख्ने चलनले गर्दा कतिपय चोरी भएका स्कुटर पनि ब्लूबुकका साथ खुलमखुला हिँड्ने गरेको उनको भनाइ थियो। पछिल्लो समय उपत्यकामा पल्सर मोटरसाइकल र डियो स्कुटर बढी चोरी हुने गरेको महाशाखाले जनाएको छ।
चालू आर्थिक वर्षमा उपत्यकामा हराएका ३ सय २६ मोटरसाइकल तथा स्कुटरमध्ये एक सय ४६ मोटरसाइकल तथा स्कुटर फेला पारिएको महाशाखा प्रमुख भट्टराईले बताए। यस्तै महाशाखाले मोटरसाइकल चोरी कार्यमा संलग्न १९ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ।
असोज १९, २०७८ मंगलबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।