वरिष्ठ उपाध्यक्षको पद थप्दै सकियो एमालेको विधान अधिवेशन
ललितपुर : पार्टीमा वरिष्ठ उपाध्यक्षको पद थप्दै एमालेको विधान अधिवेशन सकिएको छ। ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष थप्ने विधान पारित गरेको हो।
नयाँ विधान अनुसार पार्टीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव रहनेछन्। अहिले एमालेमा दुई जना उपमहासचिव छन्। प्रस्तावित विधानमा उपमहासचिव पद हटाउन प्रस्ताव गरिएको थियो।
विधानमा पार्टीको केन्द्रीय सदस्य हुन सदस्यता लिएको १० वर्ष हुनुपर्ने प्रावधान राखेको छ। महिला र दलित समुदायको हकमा सदस्य भएको ७ वर्षमा केन्द्रीय सदस्य हुनसक्ने व्यवस्था गरिएको छ।
नयाँ विधान अनुसार एमालेमा केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय र पोलिटब्युरोको संरचना रहेको छ। स्थायी कमिटी ४५ सदस्यीय हुनेछ भने १५ भन्दा धेरै पदाधिकारी हुने छन्। केन्द्रीय कमिटीमा २२५ जना हुनेछ।
असोज १७, २०७८ आइतबार १८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।