कवाडी सामान राख्ने गोदाममा फेला पर्यो १५ सय किलो पटाका
काठमाडौँ : दशै-तिहारलाई लक्षित गरेर काठमाडौँ भित्र्याएर लुकाएर राखेको १५ सय किलो भन्दा बढी आतिसवाजीका सामाग्रीसहित प्रहरीले सर्लाहीका कामेश्वर प्रसाद यादवलाई पक्राउ गरेको छ। २५ लाख बराबरको सामाग्री गोदाममा लुकाएर राखेको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले छापा मारेर ती सामान बरामद गरेको हो। प्रहरीले उनलाई विस्फोटक पदार्थ सम्बन्धी कसुरमा पक्राउ गरेको जनाएको छ।
महाशाखाका अनुसार यादवले दसैँ र तिहारलाई लक्षित गरेर कागेश्वरी मनोहरा नपा. वडा नम्बर ८ गोठाटारमा रहेको गोदाममा ती सामान राखेका थिए। उनको गोदाममा कवाडीका सामान थिए। उनको आर्थिक अवस्था हेर्दा उनले अन्य कसैको सामान गोदाममा राखेको देखिए पनि प्रहरीले अन्य व्यक्तिलाई पक्राउ गरेको छैन।
महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार गोदाममा गमला पटका २५ केजी , स्पेसल फ्लावरकोन पटका ४२० केजी , हाइड्रो फोईल्स पटका ५४ केजी , झ्यारझ्यारे पटका १०९२ केजी , रोल क्यापस पटका १५ केजी , ग्राउन्ड चक्र पटका १२० केजी , स्पाइनर पटका ९६ केजी , हाइड्रो बम पटका ७५ केजी बरामद गरेको छ।
असोज १७, २०७८ आइतबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।