सप्तरी र सुनसरीमा आतंक मच्चाउँदै आएकाे हात्ती मृतावस्थामा फेला

सप्तरी र सुनसरीमा आतंक मच्चाउँदै आएकाे हात्ती मृतावस्थामा फेला

सुनसरीः जिल्लामा केही समययता आतंक मच्चाउँदै आएकाे हात्ती मृतावस्थामा फेला परेकाे छ। सुनसरी र छिमेकी जिल्ला सप्तरीका स्थानीयलाई दु:ख दिँदै आएकाे हात्ती आज मृत फेला परेकाे हाे।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयबासीको धानबारीमा आज बिहान हात्ती मृतावस्थामा भेटिएको आरक्षका वार्डेन अशोक रामले जानकारी दिए। उनका अनुसार शनिबार राति १२ बजे आरक्षबाट बाहिर निस्किएको हात्ती बिहान धानबारीमा मृतावस्थामा रहेको खबर आएकाले हेर्न जाँदा धानबारीमा राखिएको करेन्ट लागेर मृत्यु भएको पाइएको थियो।

विगत ४/५ वर्षयता मकुनाले दर्जनौँ व्यक्तिको ज्यान लिइसकेको थियो। यसको उपद्रो सहन नसकेर स्थानीयबासीले मार्ने उपाय खोजिरहेको थिए।

नेपालमा कूल २ सय २५ वटा जङ्गली हात्ती छन्। कोशी टप्पुमा मात्रै १६ वटा हात्ती रहेका र भारतबाट झापाको बाहुनडाँगीमा एक सय ३० देखि एक सय ५० वटासम्म आउने गरेका छन्। ती हात्तीले आरक्ष नजिकका स्थानीयलाई दुःख दिँदै आएका थिए।

असोज १७, २०७८ आइतबार १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।