इन्टरनेटकाे तार काटिएपछि विभिन्न सेवामा असर

इन्टरनेटकाे तार काटिएपछि विभिन्न सेवामा असर

चितवनः नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले राजश्व नबुझाएको भन्दै इन्टरनेटको तार काटेकाले जिल्लामा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ। केन्द्रले शनिबार बिहान इन्टरनेट प्रदायकको तार काटेर ठाउँठाउँमा अवरोध पुर्याएकाले राजश्व असुल गर्ने कार्यलय र अधिकांश बैंक तथा वित्तीय संस्थाको सेवामा असर परेको छ।

अनलाइनबाट पढाइ र परीक्षा दिइरहेका विद्यार्थीलाई समेत समस्या भएको छ। केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले शनिबार बिहान चार वटा पाेलमा रहेका भाडा नतिर्ने इन्टरनेट कम्पनीका तार काटिएको बताए। इन्टरनेट सर्भिस प्रोभाइडर एशोसियशन नेपालका सचिव कमलराज बाँस्तोलाले आफूहरूले सेवा अवरुद्ध नगरेको तर काटिएको लाइन नजोडिएको जानकारी दिए।

उनले भने, “भाडा ४ गुणा बढेको छ। सोहीअनुसार तिर्दा शुल्क बढाउनुको विकल्प छैन। अत्यावश्यक सेवा भएकाले अवरोध पुर्याउनेलाई सरकारले नै कारबाही गर्नुपर्थ्याे।”  

यता चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सेवा प्रदायकलाई अब लाइन नकाटिने सुनिश्चितता गर्दै सेवा सञ्चालन गर्न अनुरोध गरिएको बताएका छन्।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले जथाभावी इन्टरनेटका तार नकाट्न निर्देशन दिएकाे थियाे। इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा अवराेध पुर्याउनेलाई कारबाही गरिने समेत प्राधिकरणले जनाएकाे थियाे। 

असोज १७, २०७८ आइतबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।