उद्योगलाई पुग्दाे बिजुली दिने प्राधिकरणको तयारी

उद्योगलाई पुग्दाे बिजुली दिने प्राधिकरणको तयारी

काठमाडौंः उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ। माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्याेगीहरूकाे माग सम्बाेधन गरिने प्राधिकरणले जनाएकाे छ। 

प्राधिकरणको प्रणालीमा हाल झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध छ। तोकिएको लक्ष्यअनुसार काम भएको खण्डमा चालू आवमा नै थप एक हजार ३ सय मेगावाट बढी बिजुली उपलब्ध हुनेछ भने प्रणालीमा तीन हजार ३ सय मेगावाट बराबरको बिजुली प्रवाह हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल रातको समयमा झण्डै ४ सय मेगावाट बिजुली जगेडामा रहेको छ। अर्थात् खेर गइरहेकाे छ। यस्तै दिनको समयमा पनि झण्डै २ सय ५० मेगावाटसम्म बिजुली खेर गइरहेको छ। 

प्राधिकरणले अब एक सय ३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगी तथा व्यवसायीले मागेअनुसारको बिजुली उपलब्ध गराउने भएको छ। त्यसका लागि के कति मात्रामा बिजुली चाहिएको हो भनेर आवेदन दिन समेत भनिएको छ।

देशभित्रै बिजुलीको खपत बढाउन कार्ययोजनाका साथ अगाडि बढेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ।

 

उद्योगीहरूका अनुसार थप ५ सयदेखि ८ सय मेगावाटसम्म बिजुलीकाे माग रहेको छ। त्यसमा सबैभन्दा बढी सिमेन्ट र छड उद्योगले थप माग गरेका छन्। प्रसारण लाइन निर्माण नभएका कारण चिनियाँ लगानीको होङसी सिमेन्ट उद्योगले बिजुली पाउन सकेको छैन। सो उद्योगले मात्रै ८० मेगावाट माग गरेको छ।

असोज १७, २०७८ आइतबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।