एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव पेश

एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव पेश

काठमाडौंः नेकपा (एमाले)काे जारी विधान महाधिवेशनमा पार्टी सदस्यताबारे निर्णय जिल्ला कमिटीले गर्ने प्रस्ताव पेश गरिएकाे छ। ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनमा उपमहासचिव विष्णुप्रसाद पौडेलले सदस्यता लिन चाहनेले सम्बन्धित पालिका कमिटीमा निवेदन दिने, जिल्ला कमिटीले निर्णय गर्ने, प्रदेश कमिटीले अनुमोदन गर्ने र केन्द्रीय सङ्गठन विभागले सदस्यता नम्बर प्रदान गर्ने नयाँ विधान संशोधन प्रस्ताव पेश गरेका हुन्।

यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस गर्ने र केन्द्रीय सङ्गठन विभागले निर्णय गर्ने व्यवस्था गरिएको थियो।

उपमहासचिव पाैडेलकाे साे प्रस्तावलाई प्रतिनिधिहरूले सकारात्मक मानेकाे बताइएकाे छ।

साथै विधान संशाेधन प्रस्तावमा सदस्यको योग्यतालाई मापनयोग्य बनाइएको छ। सदस्यता प्राप्त गरेपछि ६ महिनासम्म परीक्षणकाल रहने र सो अवधिमा न्यूनतम जिम्मेवारी पूरा गरेमा परीक्षणकाल स्वतः पूरा हुनेछ। परीक्षणकालमा चुन्ने-चुनिने बाहेकका अन्य अधिकार सदस्य सरह हुने व्यवस्था गरिएको छ।

असोज १७, २०७८ आइतबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।