अप्टिकल फाइबर जथाभावी नकाट्न प्राधिकरणकाे निर्देशन
काठमाडाैंः नेपाल दूसञ्चार प्राधिकरणले जथाभावी अप्टिकल फाइबर नकाट्न निर्देशन दिएकाे छ। प्राधिकरणले देशका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइबर काट्दा धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवाको निर्वाध उपयोगकाे व्यवस्था मिलाउन निर्देशन दिएकाे हो।
यस्तै इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध पनि गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालबीच छलफल जारी रहेकाे अवस्थामा अप्टिल फाइबर नकाट्न आग्रह गरेको हो।
“अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ। दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ, यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण दुखः व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ।
प्राधिकरणले राज्यको अति आवश्यक सेवाको अवरुद्ध गर्ने जो कोहीलाई कानूनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नाका साथै वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
असोज १७, २०७८ आइतबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।