विराटनगर कांग्रेस सभापतिमा दीपक चापागाईं, मोरङमा अरू कसले मारे बाजी ? 

विराटनगर कांग्रेस सभापतिमा दीपक चापागाईं, मोरङमा अरू कसले मारे बाजी ? 

इटहरीः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दीपक चापागाईं विजयी भएका छन्। तीन जना प्रतिस्पर्धीलाई उछिन्दै उनी सभापतिमा निर्वाचित भएका हुन्। 

डाक्टर शेखर कोइराला निकट मानिएका उनी सोही समुहका अन्य दुई जना उम्मेदवारको कारण समस्यामा थिए। तर संस्थापन समुह र आफ्नै समुहका उम्मेदवार भन्दा अत्याधिक मतले उनी विजयी भएका छन्।  

उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन पक्षका सन्तोष न्यौपानेले एक सय ६५ मत ल्याउँदा चापागाईंले दुई सय १२ मतसहित महानगरको सभापति भएका हुन्। यता कोइराला समुहकै अर्का प्रतिस्पर्धी कृष्ण कार्कीले एक सय ३३ र अरुण न्यौपानले एक सय २७ मत प्राप्त गरेका छन्। 

यस्तै उसभापतिमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा झुमा निरौला गौतम र तेजिन्द्र भट्टराई, सह–सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम आइतबार बिहान आएको हो।

प्रदेश १ को एक मात्र महानगर विराटनगरको सभापतिको निर्वाचनलाई निकै चासोका साथ हेरिएको थियो। 

मोरङकै सुन्दरहरैचामा भक्ति प्रसाद सिटौला निर्वाचित भएका छन्। कूल दुई सय ४२ मतदाता मध्ये सिटौलाले एक सय ६९ मतदाताको साथ पाए। उनका निकटतम प्रतिस्पर्धी महेन्द्र धिमालले ६७ मत प्राप्त गरेका छन्। 

यता बेलबारी नगर सभापतिमा शम्भु भट्टराईलाई पराजित गर्दै छत्र लिम्बु विजयी भएका छन्। लिम्बुले एक सय ३६ र भट्टराईले ९४ मत प्राप्त गरे। सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह एक सय ५ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धीहरू महेश्वर राजवंशीले ८९ र बैजनाथ झाले ८ मत प्राप्त गरेका छन्। 

कटहरी गाउँपालिका सभापतिमा हरिनारायण माझीलाई पराजित गर्दै रामकुमार कामत ८४ मतकासाथ विजयी भएका छन्। कामतले ८४ पाउँदा माझीले ४४ र शम्भु साहले ४ मत पाएका छन्। कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन्। दाहालले ७३ र सभापतिका उम्मेदवार दीपक चौलागाईंले ७१ मत प्राप्त गरे।

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन्। राईले एक सय ३४ र अर्का उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे। 

धनपालथान गाउँपालिका सभापतिका उम्मेदवार दीपकवीर पाण्डे ८३ मतका साथ विजयी भएका छन्। उनको प्रतिस्पर्धी उम्मेदवार बासुदेव रायले ३७ मत प्राप्त गरेका छन्। 

असोज १७, २०७८ आइतबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।