एनआरएनको नेतृत्वमा अब पार्टीगत प्रतिस्पर्धा : काँग्रेसको उम्मेदवार कुल आचार्य
काठमाडौँ : गैर आवासीय नेपाली सङ्घको आगामी नेतृत्वमा कुल प्रसाद आचार्यलाई जिताउन नेपाली काँग्रेस सक्रिय भएको छ। काँग्रेसले पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा समिति नै बनाएर विदेशमा रहेका सङ्गठन प्रमुखहरूलाई पत्र पठाएको छ।
गैर राजनीतिक सङ्गठनको दाबी गरिए पनि एनआरएनको निर्वाचन पार्टीगत उम्मेदवारी हुने गरे पनि दलहरू औपचारिक रूपमा खुल्ने गरेका थिएनन्। आन्तरिक रूपमा उम्मेदवारको पक्षमा मतदानको निर्देशन हुने गरेको थियो।
गत निर्वाचनमा आचार्य लोकतान्त्रिक समूह र कुमार पन्त वामपन्थी समूहबाट उम्मेदवार बनेका थिए। लोकतान्त्रिक समूहमा एकमत नहुँदा नेकपाको समर्थनमा पन्त अध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचनमा दलगत प्रभाव रहने गरे पनि खुल्ला समर्थन भने देखिएको थिएन। यस पटकबाट भने एनआरएनको निर्वाचनमा उम्मेदवार पार्टीगत रूपमै खुल्ने देखिएका छन्।
त्यसैको सङ्केत हो काँग्रेसको पत्र। पत्रमा नेपाली जनसम्पर्क समितिहरूको नाममा पठाइएको पत्रमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन समन्वयका लागि समिति गठन गरेको उल्लेख गर्दै असोज ७ को बैठकले कुल आचार्यको नेतृत्वको समूहलाई सहयोग गर्ने निर्णय गरेको उल्लेख छ।
काँग्रेसले युरोप ,अमेरिका ,एसिया लगायतका क्षेत्रमा संयोजनका लागि संयोजक समेत तोकेको छ।
सार्वजनिक भएको पत्र अनुसार युरोप क्षेत्रको जिम्मा प्रकाश शरण महत र गगन थापा , एसिया अर्जुननरसिंह केसी र अर्जुन जोशी , अमेरिका डा मिनेन्द्र रिजाल , अफ्रिका र मध्यपूर्व गोविन्द भट्टराई र विश्वप्रकाश शर्मा र ओसियाना क्षेत्र सुरेन्द्र पाण्डेले जिम्मा पाएका छन्।
डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन्। उनी पन्त समूहबाट उपाध्यक्षमा जितेकाले वामपन्थी समूहका उम्मेदवारको रूपमा हेरिएको छ।
वर्तमान कार्य समितिकी उपाध्यक्ष रहेकी रविना थापाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी थिइन्। उनी पनि लोकतान्त्रिक समूहकी हुन्।
असोज १६, २०७८ शनिबार २०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।