ओली तानाशाह हुन्, आत्मप्रशंसामा रमाउँछन् : कांग्रेस वरिष्ठ नेता पाैडेल

ओली तानाशाह हुन्, आत्मप्रशंसामा रमाउँछन् : कांग्रेस वरिष्ठ नेता पाैडेल

तनहुँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तानाशाहको आरोप लगाउँदै आत्मप्रशंसामा रमाइरहेको टिप्पणी गरेका छ्न्। गृहजिल्ला तनहुँको भानु नगरपालिका- २ नारेश्वरटारमा शनिबार आयोजित पदस्थापन कार्यक्रममा उनले ओलीमाथि यस्ताे टिप्पणी गरेका हुन्।

'नेकपा एमालेको विधान अधिवेशन चलिरहेको छ। अधिवेशनमा जताततै ओलीका फोटैफोटो राखिएका छन्। पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी कसैका तस्बिर छैनन्, पौडेलले भने, 'पानीका बोतलमा समेत फोटो टांसेर बाँडिएका छन्। तानाशाहले हो आत्मप्रशंसा चाहने। ओली आत्मप्रशंसामा रमाइरहेका छ्न्।'

उनले ओलीले मुलुकमा तानाशाह तर्फ धकेल्न खोज्दा आफूले तनहुँबाट तानाशाहीविरुद्ध आन्दोलन सुरु गरेको पनि जिकिर गरे। 'ओलीले देशलाई तानाशाही तर्फ लैजान खोजेका थिए। हामीले त्यसबाट बचायौं,' पौडेलले भने, 'सिंगो नेपाललाई निल्न खोजेका थिए। हामीले तनहुँबाटै चुनौती दिएका हौं। यो तानाशही सर्वसत्तावाद चल्दैन भनेर बन्दीपुरबाट मैले नै चुनौती दिएको हुँ।'

लोकतन्त्रको रक्षाका लागि लड्न नै आफूले रास्ट्रपति पद अस्वीकार गरेको नेता पौडेलको भनाइ थियो। 'रामवरणजी रष्ट्रपती बन्दै गर्दा गिरिजाबाबुले मलाई राष्ट्रपति बन्नुस भन्नुभएको थियो,' उनले भने, 'मैले लोकतन्त्रका लागि लड्न राष्ट्रपति पद त्यागेको हुँ।'

नेता पौडेलले पार्टीको जारी अधिवेशनले पार्टीमा नयाँ हलचल ल्याएको पनि बताए। 'चुनावले पार्टीमा हलचल ल्याएको छ। रक्तसंचार ल्याएको छ। चुनावले नेपाली कांग्रेसलाई अझ बलियो बनाएको छ,' पौडेलले भने , 'देशभर पार्टी चलायमान भएको छ। उर्जा उत्साहको लहर छाइरहेको छ।'

असोज १६, २०७८ शनिबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।